Home > आर्थिक > करोडौं ठगी गरी फरार डेजाभू क्लबका अध्यक्ष पक्राउ

करोडौं ठगी गरी फरार डेजाभू क्लबका अध्यक्ष पक्राउ

75 total views, 1 views today

काठमाडौं, साउन १४//बैंकिङ कसूर तथा ठगीमा लामो समयदेखि फरार रहेका दरबारमार्गस्थित डेजाभू क्लबका अध्यक्ष मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

ड्रागन एयरको जहाजमा हङकङबाट काठमाडौं उत्रिएका ३७ वर्षीय श्रेष्ठलाई आइतबार राति अध्यागमन विभागले पक्राउ गरी प्रहरीलाई बुझाएको हो।

श्रेष्ठलाई महानगरीय प्रहरी परिसरको अनुरोधमा नेपाल प्रहरीको इन्टरपोल शाखाले ‘डिफ्युजन नोटिस’ (एक–अर्कामा सूचना आदान-प्रदान गर्ने) जारी गरेको थियो। प्रहरीको सर्वाधिक खोजीमा रहेका उनलाई हङकङ प्रहरीले दिएको सूचनाको आधारमा अध्यागमनले समातेर महानगरीय प्रहरी परिसरलाई जिम्मा लगाएको थियो।

सुरूमा श्रेष्ठलाई त्रिभुवन विमानस्थल सुरक्षा प्रहरीले जिम्मा लिएको थियो। त्यसपछि उनलाई गौशाला हुँदै परिसर लगिएको हो।

‘परिसरले अनुरोध गरेपछि इन्टरपोलले उनलाई डिफ्युजन नोटिस जारी गरेको थियो, उनैलाई अध्यागमन विभागको सहयोगमा पक्राउ गरिएको हो,’ इन्टरपोल शाखाका प्रहरी उपरीक्षक उमेश जोशीले सेतोपाटीसँग भने।

श्रेष्ठमाथि दुई वटा मुद्दामा अनुसन्धान भइरहेको परिसरले जनाएको छ। परिसरका अनुसार दुई करोडको चेक बाउन्स मुद्दा र तीन करोड पचास लाख ठगी मुद्दामा श्रेष्ठ प्रहरीको खोजीमा थिए।

डेजाभू क्लबको हैसियतमा रहँदा उनले कम्पनी मर्मत गर्न भनी विश्वराम श्रेष्ठबाट दुई करोड लिएका थिए। सो रकम फिर्ता गर्न उनले चेक दिएकोमा खातामा पैसा नभएपछि बैंकले चेक बाउन्स गरिदिएको थियो।

पीडितले पटक-पटक अनुरोध गर्दा पनि मनोजले पैसा नदिएपछि परिसरमा २०७५ पुस १३ गते बैंकिङ कसूरमा जाहेरी परेको थियो।

जाहेरी परेपछि उनी नेपालबाट भागेर लामो समय हङकङ बस्दै आएका थिए।

ठगीमा श्रेष्ठविरूद्ध उनै विश्वरामले जिल्ला अदालत काठमाडौंमा तीन करोड पचास लाख रुपैयाँको बिगो माग्दै मुद्दा दायर गरेका थिए। दुवै मुद्दामा प्रहरीले श्रेष्ठलाई ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो।

परिसरका प्रहरी उपरीक्षक अशोक सिंहका अनुसार बैंकिङ कसूरमा उच्च अदालत पाटनमा श्रेष्ठविरूद्ध मुद्दा विचाराधीन छ। उच्च अदालतमा सोमबार लगिएकोमा मुद्दा हेर्दाहेर्दैमा सकिएपछि पुनः मंगलबार लगिएको सिंहले बताए।

यस्तै, जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दामा श्रेष्ठलाई अदालत लैजान बाँकी रहेको सिंहले जानकारी दिए।

Comments

comments