Home > राष्ट्रिय > संविधान संशोधन प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने राजपाको चेतावनी

संविधान संशोधन प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने राजपाको चेतावनी

51 total views, 1 views today

काठमाडौं भदौ १//राष्ट्रिय जनता पार्टी नेपाले एक साताभित्र संविधान संशोधन प्रक्रिया अगाडि नबढाए सरकारविरूद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।

राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले सरकार बनाउने बेला संविधान संशोधन गर्ने प्रतिवद्धता जनाए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बेवास्ता गरेकाले आन्दोलनमा जानुपर्ने भएको बताए।

‘संविधान संशोधनको विषय सरकारको कोर्टमा छ। सरकारले चाहेमा यसलाई अगाडि बढाउन सक्छ,’ यादवले भने,‘संविधान संशोधनकै सर्तमा हामीले एक वर्षसम्म सरकारलाई समर्थन गर्‍यौं। अहिले सरकारसँग आश मरेको छ। एक साताभित्र प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिए हामी आन्दोलनमा जान्छौं।’

२०७४ फागुनमा केपी शर्मा ओली सरकारलाई समर्थन जनाएको राजपाले एक वर्षपछि उक्त समर्थन फिर्ता लिएको थियो।

प्रधानमन्त्रीले संविधान परिवर्तनीय दस्तावेज भएको बताइरहे पनि संशोधनका लागि भने गम्भीर नदेखिएको उनले आरोप लगाए। राजपाले पहिलो संविधानसभामा सहमति जुटेको ११ प्रदेशसहितको संघीय प्रणाली हुनुपर्ने,जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बाँडफाँट हुनुपर्ने, राज्यका सबै निकाय समानुपातिक र समावेशी हुनुपर्ने लगायतका माग राख्दै आएको छ।

समाजवादी पार्टी सँग एकताका लागि वार्ता समिति बनाइएको भए पनि औपचारिक रूपमा छलफल हुन नसकेको यादवले बताए।

‘दुई पार्टीका नेताबीच छलफल भइरहेको छ। तर एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन,’ उनले भने,‘अहिले नै एकताका लागि वातावरण बनिसकेको छैन। केही समय लाग्न सक्छ।’

यादवले तोकिएकै समयमा राजपाको महाधिवेशन हुने दाबी गरे। राजपाले कात्तिक तेस्रो साता महाधिवेशन गर्ने घोषणा गरेको छ।

‘यो ६ पार्टी मिलेर बनेको पार्टी हो। त्यसैले अब हुने महाधिवेशन एकताको महाधिवेशन हो,’ उनले भने,‘महाधिवेशन तयारीमा केही प्राविधिक समस्या देखिए पनि समयमै महाधिवेशन गर्ने गरी पार्टी लागेको छ।’

पार्टीको विधान नबनिसके पनि अब एकल नेतृत्वमा जाने भन्नेमा नेतृत्वबीच सहमति भइसकेको उनले बताए।

राजपा अहिले ६ जनाको अध्यक्ष मण्डल छ। चक्रिय प्रणालीका आधारमा नेताहरू संयोजक चुनिन्छन्। सेतोपाटी

Comments

comments